काठमाडौँ, २ असार । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग¥यो ।
कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग¥यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए ।
स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण ग¥यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ ।
विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ ।
प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् ।